| राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
2 years, 10 months ago |
| चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०
2 years, 10 months ago |
| प्रेस विज्ञप्ति: साँस्कृतिक रुपान्तरण पुरस्कार २०८० सम्बन्धमा (२०८० भाद्र ३१)
2 years, 10 months ago |
| सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (दोस्रो पटक प्रकाशित सूचना मितिः २०८०।२।३२ गते)
3 years, 1 month ago |
| सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (२०८०।२।२५)
3 years, 1 month ago |
काठमाडौं। चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ।
नेपाली चलचित्रको ऐतिहासिक विरासतको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई पुराना नेपाली चलचित्रसँग परिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनी साउन २२ गते शुक्रबारदेखि २७ गते बुधबारसम्म चलचित्र विकास बोर्ड, फिल्म बोर्ड चोक, काठमाडौंमा सञ्चालन हुनेछ।
प्रदर्शनीमा नेपाली चलचित्रको इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने १० चलचित्र निःशुल्क देखाइने बोर्डले जनाएको छ। तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा बोर्डको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका चलचित्रलाई दर्शकमाझ पुनः प्रस्तुत गर्न कार्यक्रम आयोजना गरिएको हो।
प्रदर्शनीको पहिलो दिन साउन २२ गते शुक्रबार दिउँसो १२ बजे हिरासिंह खत्री निर्देशित ‘आमा’ प्रदर्शन हुनेछ। साउन २३ गते शनिबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘सिन्दुर’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘परिवर्तन’ देखाइनेछ।
साउन २४ गते आइतबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘मनको बाँध’ तथा दिउँसो २ बजे प्रदीप रिमाल निर्देशित ‘के घर के डेरा’ प्रदर्शन हुनेछ। साउन २५ गते सोमबार दिउँसो १२ बजे प्रेमबहादुर बस्न्यात निर्देशित ‘कुमारी’ देखाइने कार्यक्रम छ।
त्यसैगरी, साउन २६ गते मंगलबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘शान्तिदीप’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘हिजो आज भोलि’ प्रदर्शन हुनेछन्।
प्रदर्शनीको अन्तिम दिन साउन २७ गते बुधबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘बदलिँदो आकाश’ तथा दिउँसो २ बजे प्रकाश थापा निर्देशित ‘जीवनरेखा’ देखाइनेछ।
एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरु हुनेछ भने दुई चलचित्र प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुनेछ।
पुराना चलचित्रमा चित्रित तत्कालीन समाज, संस्कृति, भाषा, जीवनशैली तथा चलचित्र निर्माणको अभ्यासबारे वर्तमान पुस्तालाई जानकारी गराउन प्रदर्शनी महत्त्वपूर्ण हुने बोर्डको विश्वास छ। कार्यक्रमले नेपाली चलचित्रको इतिहास, संरक्षण, अभिलेखीकरण, अध्ययन तथा अनुसन्धानप्रति रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ। सिट सीमित भएकाले इच्छुक दर्शकलाई अग्रिम रूपमा सिट सुरक्षित गर्न बोर्डले आग्रह गरेको छ। थप जानकारी तथा सिट आरक्षणका लागि WhatsApp नम्बर ९८६६६६५७५६ मा सम्पर्क गर्न सकिनेछ।

