| गोवाको ‘फिल्म बजार २०२३’मा बोर्डको सहभागिता
2 years, 7 months ago |
| ANNOUNCEMENT: "Halkara" Chosen as Nepal's Official Entry to the 96th Academy Awards
2 years, 10 months ago |
| स्टोरी बैंक (कथा संग्रहालय) को नतिजा सम्बन्धी सूचना ( मिति २०७९।१२।२६ )
3 years, 4 months ago |
काठमाडौं । नेपालको पहिलो नेपाली चलचित्र ‘आमा’का चार कलाकारको उपस्थितिमा चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ कार्यक्रम सुरु गरेको छ।
चलचित्र ‘आमा’का कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रह्यो। हलका सिट भरिएपछि केही दर्शकले उभिएरै चलचित्र हेरेका थिए।
कार्यक्रमको सुरुवातमा हरि बंश आचार्य र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले चारै कलाकारलाई माला लगाएर स्वागत गरे। त्यसपछि भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे।
बोर्ड अध्यक्ष दिनेश डीसीले कार्यक्रमको सहजीकरण गरेका थिए। चलचित्र प्रदर्शनअघि उनले चारै कलाकारसँग ‘आमा’ निर्माण र प्रदर्शनताकाका अनुभव तथा नेपाली चलचित्रको प्रारम्भिक कालसँग जोडिएका स्मरणबारे संवाद गरे।
कलाकारहरूले ‘आमा’मा काम गर्दाको समय, त्यतिबेलाको चलचित्र निर्माण प्रक्रिया र नेपाली चलचित्रको सुरुवाती यात्राका अनुभव दर्शकमाझ सुनाएका थिए। त्यसपछि उनीहरूकै उपस्थितिमा ‘आमा’ प्रदर्शन गरिएको थियो।
दशकौँअघि आफूले अभिनय गरेको चलचित्र पुनः ठूलो पर्दामा हेर्न चारै कलाकार उपस्थित हुँदा कार्यक्रम भावनात्मक बनेको थियो। अर्कोतर्फ, पुरानो नेपाली चलचित्र हेर्न नयाँ पुस्तासहित ठूलो संख्यामा दर्शक पुगेका थिए।
कार्यक्रममा अध्यक्ष डीसीले अब हरेक महिना एउटा ऐतिहासिक नेपाली चलचित्रको हलमा विशेष प्रदर्शन गर्ने घोषणा गरे।
उनका अनुसार यस्तो विशेष प्रदर्शनबाट संकलन हुने रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिनेछ।
बोर्डले पुराना तथा ऐतिहासिक नेपाली चलचित्रलाई नयाँ पुस्तासम्म पुर्याउने, तिनमा योगदान दिएका कलाकार तथा प्राविधिकको सम्मान गर्ने र नेपाली चलचित्र इतिहासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘ओल्ड इज गोल्ड’लाई नियमित कार्यक्रमका रूपमा अगाडि बढाउने जनाएको छ।
नेपालको पहिलो नेपाली चलचित्रका कलाकारकै उपस्थितिबाट सुरु भएको ‘ओल्ड इज गोल्ड’मा देखिएको दर्शक सहभागिताले पुराना नेपाली चलचित्रप्रति दर्शकको चासो अझै बलियो रहेको संकेत गरेको छ।


