badapatra


चलचित्र विकास बोर्डको सकृय सहकार्य सेलिब्रेटी नेपालको आयोजनामा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) सम्पन्न

8 hours ago | Published: May 4, 2026, 9:56 a.m. | Views: 194

चलचित्र विकास बोर्डको सकृय सहकार्य सेलिब्रेटी नेपालको आयोजनामा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) भव्य रूपमा सम्पन्न भएको छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले स्थानीय आयोजकको रुपमा सहयात्रा गरेको हो। ऐतिहासिक एवं पर्यटकिय हिसाबले महत्वपुर्ण नाढीतालको किनारमा ३ दिने महोत्सव आयोजना गरिएको थियो।
यस महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो। साथै, मधेशका कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रमहरू पनि आयोजना गरिएका थिए।
पहिलो पटक मधेश प्रदेशमा आयोजना गरिएको महोत्सवको पाँचौँ संस्करणले मधेशमा नेपाली सिनेमाको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याएको आयोजकले जनाएको छ।
सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. सहभागी थिए। कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै सर्लाहीमा महोत्सव आयोजना गर्नुले स्थानीय क्षेत्रको प्रचार–प्रसारमा ठूलो योगदान पुगेको बताए।
कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा चलचित्र निर्माता छविराज ओझा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी तथा हरिपुर नगरपालिकाका प्रमुखको उपस्थिति रहेको थियो। चन्द्रनगर गाउँपालिकाको नाढीतालमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कलाकार तथा स्रष्टाहरूलाई पुरस्कार वितरण गर्नुका साथै नाढीताल र चन्द्रनगरको जानकारी मुलक ३ पुस्तक समेत विमोचन गरिएको थियो।