| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)
3 years, 6 months ago |
| Call for Young Film Mentors - 3 Day Intensive Training with Children Film Society (27 May, 2022)
3 years, 9 months ago |
| नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय माध्यमबाट निवेदन पेश गर्ने सम्बन्धी सूचना (२०७९।२।१०)
3 years, 9 months ago |
| स्टोरी बैंक (कथा संग्रहालय) २०७८ को नतिजा सम्बन्धी सूचना
3 years, 10 months ago |
| स्टोरी बैंक (कथा संग्रहालय) २०७७ को नतिजा सम्बन्धी सूचना
4 years, 10 months ago |
काठमाडौं, १२ फागुन २०८२ — नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुरूवात गरेको छ। मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्री लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा सङ्ग्रहालय उद्घाटन गरिएको हो।
कार्यक्रममा चलचित्रकर्मी तथा विभिन्न संस्थाहरूले विगतका ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजातहरू हस्तान्तरण गरेका थिए। सामाग्री उपलब्ध गराउने व्यक्तित्व तथा संस्थाहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो।
ऐतिहासिक सामाग्री हस्तान्तरण
सङ्ग्रहालयलाई समृद्ध बनाउन विभिन्न क्षेत्रका चलचित्रकर्मी तथा संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन्।
सिने फोकस प्रा.लि. (रजत बुढाथोकी) ले रेड क्यामेरा हस्तान्तरण गरेका छन्।
क्लासिक सिने युनिभर्स प्रा.लि. (दिनेश महरा) ले सोनी EX3 क्यामेरा उपलब्ध गराएका छन्।
वरिष्ठ चलचित्र सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक F10 क्यामेरा, सोनी कलर मोनिटर (२००१), नेशनल पानासोनिक ५४३ क्यासेट टेप, साउण्ड/भिडियो उपकरण तथा अडियो मिक्सर उपलब्ध गराएका छन्।
उत्तम थापा, प्रबन्ध निर्देशक, म्यूजिक नेपाल प्रा.लि. ले १५२ वटा नेपाली चलचित्रका पोस्टर तथा आर्टवर्क प्रदान गरेका छन्।
रुपेन्द्र खड्गी , ओ.एस.आर प्रा.लि. ले चलचित्र आर्टवर्कहरू उपलब्ध गराएका छन्।
कान्तिपुर रेडियो ले ३४४ वटा चलचित्रका क्यासेट तथा अडियो सिडीहरू हस्तान्तरण गरेका छन्।
दर्शनबीर शाक्य, सम्पादक, पेज थ्री पत्रिका ले नेपाल भाषाका ८० चलचित्रका पोस्टर उपलब्ध गराएका छन्।
जनक तामाङ, प्रबन्ध निर्देशक, हाईलाईट्स नेपाल प्रा.लि. ले २०२ नेपाली चलचित्रका आर्टवर्क प्रदान गरेका छन्।
सुन्दरलाल श्रेष्ठ, आईडियल डिजाईनर्स ले १४६ नेपाली चलचित्रका पोस्टर उपलब्ध गराएका छन्।
वरिष्ठ चलचित्रकर्मी मन्दिल श्रेष्ठ तथा गौरीशंकर धुँजु (ए वन जन सेन्टर) ले पुरानो ऐतिहासिक क्यामेरा तथा ट्राइपोड प्रदान गरेका छन्।
लेखक तथा चलचित्रकर्मी नरेन्द्रबहादुर श्रेष्ठ ले प्रथम चलचित्र अवार्डका संग्रहयोग्य कागजात उपलब्ध गराउने भएका छन्।
वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधान ले आफू सम्वध्द ६३ नेपाली चलचित्रका स्क्रिप्टहरू उपलब्ध गराएका छन्।
नेपाली चलचित्रप्रेमी दर्शक खुमराज पौडेल (प्रतिनिधि प्रिया लामिछाने) ले ७०४ वटा नेपाली चलचित्रका पोस्टर हस्तान्तरण गरेका छन्।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र सङ्ग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै यसलाई नेपाली चलचित्रको आत्मा जोगाउने अभियानका रूपमा व्याख्या गरे।
“नेपाली चलचित्रको इतिहास केवल सम्झनामा सीमित नहोस्, त्यसलाई पुस्तान्तरण गर्न सकिने गरी संस्थागत रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौँ,” अध्यक्ष डिसीले भने। उनले विगतका संघर्ष, प्रविधिगत विकास र सिर्जनात्मक यात्रालाई एकै थलोमा अभिलेखीकरण गर्नु समयको माग भएको धारणा व्यक्त गरे।
उनले सङ्ग्रहालयलाई आगामी दिनमा डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा चलचित्रप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। “यो सुरुआत मात्र हो। हामी यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विस्तार गर्नेछौँ,” उनले प्रतिबद्धता जनाए।
बोर्ड सदस्य गणेश सुवेदीको मन्तव्यबाट शुरुभएको कार्यक्रममा सेन्सर वोर्ड अध्यक्ष उदय बहादुर राना मगर र वोर्ड सदस्य राजु प्याकुरेल , वीरेन्द् भट्टको समेत उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्रको इतिहास संरक्षणमा बोर्डले ऐतिहासिक कदम चालेको बताएका थिए। सङ्ग्रहालयले विगतका प्रविधि, सिर्जना र दस्तावेजहरूलाई एकै स्थानमा सुरक्षित राखेर नयाँ पुस्तालाई अध्ययन तथा अनुसन्धानको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
चलचित्र विकास बोर्डले आगामी दिनमा थप चलचित्रकर्मी, संस्थाहरू तथा निजी संग्राहकहरूसँग सहकार्य गर्दै सङ्ग्रहालयलाई थप व्यवस्थित र समृद्ध बनाउने जनाएको छ। नेपाली चलचित्र उद्योगको इतिहासलाई संस्थागत रूपमा जोगाउने यो पहललाई चलचित्रकर्मीहरूले स्वागत गरेका छन्।कायर्क्रममा चलचित्र संग सम्वन्धित १३ संघ संस्थाका अध्यक्षहरु लगायत विशिष्ट चलचित्रकर्मीहरुको उल्लेख्य उपस्थिति थियो।









