badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

1 year, 3 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

1 year, 3 months ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

1 year, 3 months ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

1 year, 3 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ कार्यक्रम सम्पन्न

1 year, 3 months ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 day ago| Published: Aug. 9, 2026, 4:58 p.m. | Views: 315

काठमाडौं। चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा जारी ‘OLD IS GOLD’ पुराना नेपाली चलचित्रहरूको विशेष प्रदर्शन शृंखलाअन्तर्गत आइतबार प्रदर्शन गरिएका ‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल भएका छन्।


पुराना चलचित्रलाई ठूलो पर्दामा पुनः हेर्न आएका दर्शकका लागि आइतबारको प्रदर्शन अझ विशेष बन्यो, जब ती चलचित्रमा अभिनय गरेका कलाकारहरू स्वयं प्रेक्षालयमा उपस्थित भएर दर्शकसँग आफ्नो समयका अनुभव र स्मृति बाँडे।


बिहान ११ बजे प्रदर्शन गरिएको ‘के घर के डेरा’ हेर्न चलचित्रका वरिष्ठ कलाकार बसुन्धरा भुसाल, पुरण जोशी र शर्मिला मल्ल विशेष रूपमा उपस्थित भए।


उनीहरूलाई चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्ल र नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले माला लगाएर स्वागत गरे। पुरानो पुस्ताका चर्चित कलाकारलाई नेपाली चलचित्रकै अग्रज व्यक्तित्वहरूले स्वागत गरेको दृश्यले कार्यक्रमलाई सम्मान र पुनर्मिलनको स्वरूप दिएको थियो।


चलचित्र प्रदर्शनसँगै कलाकारहरूसँग अन्तरक्रिया पनि आयोजना गरिएको थियो। कलाकारहरूले चलचित्र निर्माण हुँदाको समय, तत्कालीन छायांकनका अनुभव, नेपाली चलचित्र क्षेत्रको अवस्था र चलचित्रसँग जोडिएका विभिन्न स्मरण दर्शकसँग बाँडे।


चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.ले कलाकारहरूसँग संवाद गर्दै अन्तरक्रियाको सहजीकरण गरे। पर्दामा चलचित्र र त्यसलगत्तै दर्शकसामु त्यही चलचित्रका कलाकारका अनुभव सुन्न पाउँदा प्रदर्शन केवल फिल्म हेर्ने कार्यक्रममै सीमित रहेन।


दिउँसो २ बजे प्रदर्शन गरिएको ‘मनको बाँध’मा चलचित्रकी नायिका सुष्मा शाहीको विशेष उपस्थिति रह्यो।


उनलाई स्वागत गर्दै दर्शकसँग अन्तरक्रिया गराइएको थियो। सुष्मा शाहीले चलचित्र निर्माणकालसँग जोडिएका आफ्ना अनुभव र स्मरणहरू दर्शकसँग साझा गरिन्। यस शोको अन्तरक्रियासमेत बोर्ड अध्यक्ष दिनेश डी.सी.ले सहजीकरण गरेका थिए।


‘मनको बाँध’को प्रदर्शनमा पनि प्रेक्षालय भरिएको थियो। यससँगै आइतबारका दुवै शो हाउसफुल बने।


कार्यक्रममा वरिष्ठ कलाकार चैत्यदेवी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम के.सी., चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानसहित विभिन्न पुस्ताका कलाकार, निर्देशक तथा चलचित्रकर्मीको समेत उपस्थिति थियो।


पुराना चलचित्रसँगै तिनका कलाकारलाई दर्शकसामु उपस्थित गराउने र उनीहरूका अनुभव प्रत्यक्ष सुन्ने अवसर सिर्जना गरिएकाले ‘OLD IS GOLD’ प्रदर्शन शृंखला पुराना चलचित्र हेर्ने अवसरसँगै नेपाली चलचित्र इतिहासका सर्जक र कलाकारसँगको प्रत्यक्ष भेटघाटको माध्यमसमेत बनेको छ।


विशेषगरी पुरानो पुस्तालाई आफ्ना समयका चलचित्र पुनः ठूलो पर्दामा हेर्ने अवसर मिलेको छ भने नयाँ पुस्ताका दर्शकलाई नेपाली चलचित्रको पुरानो कालखण्डसँग प्रत्यक्ष परिचित हुने मौका मिलिरहेको छ।



‘OLD IS GOLD’को विशेष प्रदर्शन सोमबार पनि जारी रहनेछ।


सोमबार दिउँसो १२ बजे चलचित्र विकास बोर्डको प्रेक्षालयमा नेपालको पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’को विशेष प्रदर्शन हुँदैछ।


प्रदर्शनमा चलचित्रकी नायिका तथा वरिष्ठ कलाकार चैत्यदेवी र गौतम रत्न तुलाधरको विशेष उपस्थिति रहनेछ। चलचित्र प्रदर्शनसँगै उनीहरूसँग तत्कालीन नेपाली चलचित्र निर्माण र ‘कुमारी’सँग जोडिएका अनुभवबारे अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ।


आइतबार ‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल भएपछि अब ‘कुमारी’को विशेष प्रदर्शन ‘OLD IS GOLD’को अर्को आकर्षण बन्ने भएको छ।