| चलचित्रमा गीतको भूमिका र गीतकारको हकअधिकारबारे कार्यशाला सम्पन्न
5 months, 3 weeks ago |
| चार दिने महिला चलचित्र महोत्सव उद्घाटन
5 months, 3 weeks ago |
| चलचित्र विकास बोर्डद्वारा प्रोस्थेटिक मेकअप तालिम सुरु
5 months, 4 weeks ago |
| चलचित्र विकास बोर्डमा एआई फिल्ममेकिङ र ड्रोन तालिम सुरु १७६ जनाको सहभागिता
6 months ago |
| चलचित्र विकास बोर्डको सहयोगमा निर्माणाधिन तामाङ चलचित्र ‘उर्गेन’ शुभ मुहुर्त
6 months ago |
काठमाडौं, १७ साउन। काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने “फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम” आज सम्पन्न भएको छ।
चलचित्र विकास बोर्डमा आयोजित समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको अध्यक्षता तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता रहेको थियो। तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी थिए।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र उद्योगको विकासमा दक्ष प्राविधिक जनशक्ति उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै पत्रकार, फोटोपत्रकार तथा दृश्य सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि यस्ता प्रयोगात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। चलचित्र निर्माणसँगै प्रचार–प्रसार, अभिलेखीकरण र चलचित्रसम्बन्धी समाचार सम्प्रेषणमा दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन प्रशिक्षार्थीहरूलाई आग्रह गरे। साथै चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रका विभिन्न विधामा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रमुख अतिथि सुनिता डंगोलले तालिमका प्रमुख प्रशिक्षकहरू राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जनलाई प्रशंसापत्र प्रदान गरिन्। साथै उनले तालिम सफलतापूर्वक पूरा गरेका ३५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिन्।
सोही अवसरमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याएका नेपालका पहिलो स्टिल फोटोग्राफर मञ्जु कुमार श्रेष्ठ तथा वरिष्ठ चलचित्र प्रचार सामग्री (फिल्म पोस्टर) डिजाइनर सुन्दर श्रेष्ठलाई जनही रु. ३५ हजार राशिको सम्मान पुरस्कार प्रदान गरिएको थियो। चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रमा पहिलोपटक 'स्थिर फोटोग्राफी' तथा 'चलचित्रका प्रचार सामग्री डिजाइन' विधामा पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरेको जनाएको छ।
कार्यवाहक प्रमुख डंगोलले सीपमूलक तालिमले युवाहरूलाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। काठमाडौं महानगरपालिकाले विभिन्न निकायसँगको सहकार्यमा युवाहरूको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई काठमाडौंका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रभावकारी प्रवर्द्धनमा उपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन्।
काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन गरिएको उक्त ३० दिने तालिममा फोटोग्राफी, फोटो–भिडियो पत्रकारिता, क्यामेरा सञ्चालन, फोटो सम्पादन, दृश्य कथावाचन, समाचार प्रस्तुति तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यावहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
समापन कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, फोटोपत्रकार, प्रशिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

