badapatra


कान्समा जुरी पुरस्कारसँगै ध्वनि सिर्जनाको अन्तर्राष्ट्रिय सम्मान जितेर फर्किएको ‘Elephants in the Fog’ टोलीलाई बोर्डले गर्यो भव्य स्वागत

7 hours ago| Published: May 25, 2026, 12:29 p.m. | Views: 162


काठमाडौं। विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक उपलब्धि हासिल गरी स्वदेश फर्किएको नेपाली फिल्म ‘Elephants in the Fog’ को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामासहितको टोलीलाई नौमती बाजा बजाउँदै फूलमालाले स्वागत गरिएको हो।

कान्स फिल्म फेस्टिभल २०२६ को Un Certain Regard विधामा ‘Elephants in the Fog’ ले Jury Prize जितेको छ। कान्सको Official Selection मा पुगेको पहिलो नेपाली फिचर फिल्मका रूपमा यो उपलब्धिलाई नेपाली चलचित्र क्षेत्रले ऐतिहासिक कोसेढुंगाका रूपमा लिएको छ।

यसका साथै फिल्मले ध्वनि सिर्जनाका लागि Prix de la Meilleure Création Sonore 2026 / Best Sound Creation Award पनि प्राप्त गरेको छ। यो सम्मान La Semaine du Son द्वारा Un Certain Regard चयनअन्तर्गत प्रदान गरिएको हो। फिल्मको ध्वनिको बलियो पहिचान, लय, संगीतात्मकता र भावनात्मक प्रभावलाई यो सम्मानको आधार मानिएको छ।

स्वागत कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, चलचित्र क्षेत्रका १४ संघ–संस्थाका प्रतिनिधि, चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। चलचित्र निर्देशक समाज र कलाकार संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू पनि स्वागत कार्यक्रममा ब्यानर सहित सहभागी थिए।

मन्त्रीद्वयले फिल्म टोलीलाई बधाई दिँदै यो उपलब्धिले सिंगो नेपाली चलचित्र क्षेत्र र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरव गर्ने अवसर प्रदान गरेको बताउनुभयो। सञ्चारमन्त्री तिमिल्सिनाले फरक धारका सिनेमालाई राज्यले प्रोत्साहन गर्ने नीति अघि बढाइने बताउनुभयो भने संस्कृति तथा पर्यटनमन्त्री पौडेलले चलचित्रकर्मीहरू मुलुकका अवैतनिक सांस्कृतिक दूत भएको उल्लेख गर्नुभयो।

सूचना तथा सञ्चार मन्त्रालयले चाँडै विशेष कार्यक्रम आयोजना गरी फिल्म टोलीलाई सम्मान गर्ने तयारी गरेको छ। चलचित्र विकास बोर्डले पनि यसै साता सम्मान कार्यक्रम आयोजना गरी फिल्म टोलीलाई रु. २ लाख ५० हजारसहित सम्मान गर्ने घोषणा गरिएको छ।

यस वर्ष नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको सहकार्यमा पहिलोपटक कान्स फिल्म फेस्टिभलमा आधिकारिक नेपाली स्टल स्थापना गरिएको थियो। यद्यपि, सरकारको विदेश भ्रमणसम्बन्धी नीतिगत कडाइका कारण दुवै बोर्डबाट प्रत्यक्ष प्रतिनिधि पठाउन नसकिएको अवस्थामा स्टलको व्यवस्थापन स्थानीय साझेदारमार्फत गरिएको थियो।

‘Elephants in the Fog’ को उपलब्धिले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ आत्मविश्वास दिएको छ। कान्सको प्रतिष्ठित विधामा प्राप्त Jury Prize र ध्वनि सिर्जनाका लागि प्राप्त अन्तर्राष्ट्रिय सम्मानले नेपाली सिनेमाको कथ्य, शिल्प र प्राविधिक सम्भावनालाई विश्वसामु थप स्पष्ट बनाएको छ।